Home Notices
Exams & Routine
Exam Routine Exam Centre Exam Form Ledger Class Routine Programs Blog Alumni Admission Curriculums Fee Structure Scholarship Gallery Leadership Contact
← Back to Blog

नेपालमा खाद्य प्रविधि शिक्षा, खाद्य उद्योगमा यसको भूमिका र दिगो विकासका लागि युवाको ध्यान

नेपालमा खाद्य प्रविधि शिक्षाको विकास, खाद्य उद्योगमा यसको भूमिका, करियर अवसर र दिगो विकासका लागि युवा पुस्ताको योगदानबारे विस्तृत जानकारी।

नेपालमा खाद्य प्रविधि शिक्षा, खाद्य उद्योगमा यसको भूमिका र दिगो विकासका लागि युवाको ध्यान
डा. नबराज हेका, क्याम्पस प्रमुख, निस्ट हायर एजुकेसन

नेपाल एक कृषि प्रधान देश हो, जसको अर्थतन्त्रमा कृषिको ठूलो हिस्सा छ । हाम्रो दैनिक भान्सामा प्रयोग हुने गुँद्रुकदेखि प्याकेटबन्द स्न्याक्ससम्म, प्रत्येक खानेकुरा कुनै न कुनै रूपमा खाद्य विज्ञान र प्रविधिको स्पर्शबाट गुज्रिएका हुन्छन् । पछिल्ला वर्षहरूमा देशमा खाद्य प्रविधि शिक्षा र अनुसन्धानले फड्को मार्दै गएको छ । नेपालको खाद्य सुरक्षालाई मजबुत बनाउन, आयातमा निर्भरता घटाउन र युवा पुस्तालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न खाद्य प्रविधि शिक्षा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

खाद्य प्रविधि के हो ?

खाद्य विज्ञान भनेको खानेकुराको भौतिक, जैविक र रासायनिक संरचनाको अध्ययन गर्ने विधा हो, जसले खाना प्रशोधन र संरक्षणका सिद्धान्तहरू उजागर गर्छ । यसले रसायन, जैवप्रविधि, इन्जिनियरिङ, सूक्ष्मजीव विज्ञान र पोषणजस्ता विविध वैज्ञानिक विषयहरूको एकीकृत प्रयोगमार्फत खाद्यको सुरक्षा, पौष्टिकता, स्वच्छता र उपलब्धता बढाउने प्रयास गर्दछ । यी वैज्ञानिक सिद्धान्तहरूको व्यवहारिक अनुप्रयोग नै खाद्य प्रविधि हो, जसअन्तर्गत खाना छनोट, परिक्षण, प्रशोधन, प्याकेजिङ, वितरण र उपभोगसम्मका चरणहरूमा आधुनिक प्रविधिको उपयोग गरिन्छ ।

साधारण भाषामा भन्दा, खाद्य प्रविधिले खेतबारी र गोठबाट उपभोक्ताको थालीसम्म आउने यात्रा वैज्ञानिक विधिले सुचारु बनाउने कार्य गर्दछ । भोजनलाई लामो समयसम्म सुरक्षित राख्ने परिक्षण प्रविधि होस् या नयाँ स्वाद र पौष्टिकताले भरिपूर्ण उत्पादन विकास गर्ने प्रक्रियाहरू, यी सबै खाद्य प्रविधिको अध्ययन अनुसन्धानको दायराभित्र पर्छन् ।

नेपालमा खाद्य प्रविधि शिक्षा

नेपालमा खाद्य प्रविधि शिक्षाको आरम्भ करिब पाँच दशकअघिदेखि भइसकेको छ । बि.सं. २०३० तिर त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरानस्थित ईन्स्टीचयुट अफ अपलाईड साइन्स एन्ड टेक्नोलोजि मा प्रमाणपत्र तहको खाद्य प्रविधि कार्यक्रमले पहिलो पटक यो विषयको शिक्षा सुरु गरेको थियो । उक्त प्रमाणपत्र कोर्स वि.सं. २०३६ सम्म सञ्चालन भयो र त्यसपछि उसको स्थानलाई स्नातक तहको फुड टेक्नोलोजिले लियो, जसलाई पछि परिमार्जन गरी त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थान आई.ओ.एस.टी अन्तर्गत चार वर्षे बि.टेक फुड कार्यक्रमका रूपमा विस्तार गरियो । यो क्रमसँगै नेपालमा खाद्य प्रविधि शिक्षाले संस्थागत रूपमा विकसित हुँदै आएको छ ।

हाल नेपालको शैक्षिक परिदृश्यमा करिब १३ वटा कलेज तथा संस्थाहरूले खाद्य प्रविधि र सम्बन्धित विषयका स्नातक तहका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।

खाद्य प्रविधि पाठ्यक्रमहरूको संरचना प्रायः चार वर्षे हुन्छ जसमा रसायन विज्ञान, जीव विज्ञान, खाद्य इंजिनियरिङ, सूक्ष्मजीव विज्ञान, पोषण विज्ञान, गुणस्तर नियन्त्रण आदिजस्ता विषयहरूको सैद्धान्तिक तथा प्रयोगात्मक अध्ययन समावेश हुन्छ । विद्यार्थीहरूले खाद्य विश्लेषण, खाद्य प्रशोधन प्रविधिहरू, खाद्य सुरक्षा नियमहरू, उद्यमशीलता र अनुसन्धान प्रविधि आदिमा ज्ञान हासिल गर्छन् । धेरैजसो कार्यक्रमले अन्तिम वर्षमा उद्योगमा इन्टर्नशिप तथा परियोजना कार्यको व्यवस्था गरेका छन्, जसले विद्यार्थीहरूलाई व्यवहारिक सीप र अनुभव प्रदान गर्छ। यसरी शिक्षित भएका खाद्य प्रविधि स्नातकहरू विभिन्न क्षेत्रमा आकर्षक रोजगारीका अवसरहरू पाउन योग्य हुन्छन् । खाद्य प्रशोधन उद्योग, गुणस्तर परीक्षण प्रयोगशाला, अनुसन्धान प्रतिष्ठान, सरकारी निकाय जस्तै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग देखि लिएर गैर–सरकारी संस्था र अन्तर्राष्ट्रिय संघसंस्था सम्म । हालैको एक प्रतिवेदनअनुसार सरकारले खाद्य अधिकारलाई मौलिक हकका रूपमा स्थापित गर्दै देशका हरेक ७७ वटै जिल्लामा कम्तीमा एक जना खाद्य प्राविधिज्ञ नियुक्त गर्ने प्रस्तावसमेत अगाडि सारेको छ । उपभोक्ताको स्वास्थ्यप्रति सजगता बढ्दै जाँदा सम्बन्धित संस्थाहरूले निरीक्षण तथा जनचेतना कार्यक्रम व्यापक बनाएसँगै खाद्य प्रविधि स्नातकहरूको माग अझ वृद्धि भएको देखिन्छ । यो अवस्थाले युवावर्गका लागि खाद्य प्रविधिमा करियर बनाउने वातावरण अझै राम्रो बन्दै गएको संकेत गर्दछ ।

नेपालको खाद्य उद्योग, चुनौतीहरू र खाद्य प्रविधिको भूमिका

नेपालको आर्थिक तथा सामाजिक विकासमा खाद्य क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ, तर यो क्षेत्रमा कैयौं चुनौतीहरू पनि विद्यमान छन् । कृषि उत्पादन प्रणाली परम्परागत एवं आत्मनिर्भर स्वरूपको भएकाले उत्पादन र आपूर्तिबीच सन्तुलन मिलाउन हम्मे पर्ने गरेको छ । विशेषगरी पहाडी तथा दुर्गम भूभागहरू खाद्य असुरक्षाको उच्च जोखिममा हुन्छन्, र देशभर नै कृषिमा सीमित सरकारी सहयोग, साना जोत तथा न्यून लगानीका कारण उत्पादन वृद्धिदर सुस्त छ । प्रविधिको ढिलो अपनत्व, सिँचाइ र आधुनिकीकरणको अभाव तथा जलवायु परिवर्तनको असरले गर्दा नेपालमा कृषि उत्पादन र उपज वृद्धि सुस्ताएको र अन्नबालीको उत्पादकत्व अन्य देशहरूको तुलनामा अबस्था कमजोर रहेको देखिन्छ ।

साथसाथै, नेपालको खाद्य आपूर्ति श्रृंखलामा नष्ट हुने र खेर जाने खानेकुराको परिमाण पनि धेरै छ । एक अध्ययनअनुसार नेपालमा दैनिक उत्पादन हुने ताजा फलफूल र तरकारीमध्ये ४०५ भन्दा बढी भाग यातायात र ह्यान्डलिङका क्रममा खेर जाने गर्दछ । संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रम यु.एन.इ.पि. ले जनाएअनुसार नेपालमा प्रतिव्यक्ति वार्षिक खाद्य फोहोर करिब ७९ किलोग्राम जति छ, जुन विश्व र दक्षिण एशियाली औसतभन्दा उच्च हो । कृषि उपजको यस्तो ठूलो हानि हुनुमा चिस्यान भण्डारण सुविधाको कमी, माग र आपूर्तिबीच प्रभावकारी सूचना आदान–प्रदान नहुनु, आपूर्ति श्रृंखलामा धेरै चरणका बिचौलिया र प्रशोधन प्रविधिको अभाव लगायत कारणहरू जिम्मेवार छन् । यस किसिमको अकार्यक्षमताका कारण किसानले आफ्नो बालिको उचित मूल्य प्राप्त गर्न सकिरहेका छैनन्, किनभने उपभोक्ताबाट तिरेको मूल्यको ठूलो अंश बिचौलियाहरूले जोखिमको बहानामा राख्ने गरेका छन् । खाद्य गुणस्तर र सुरक्षाका दृष्टिले पनि चुनौतिहरू छन् – बजारमा अखाद्य पदार्थ मिसावट र मापदण्डविपरीत उत्पादनका घटनाहरू समय–समयमा सार्वजनिक भएका छन् । यस्ता घटनाले प्रभावकारी नियमन र गुणस्तर सुनिश्चित गर्ने दक्ष जनशक्तिको खाँचो अझ महत्त्वका साथ उजागर गरेका छन् ।

यी चुनौतीहरूको सामना गर्न खाद्य प्रविधि र विज्ञानले के कस्ता समाधान दिनसक्छ र यस प्रश्नको उत्तर नै यस क्षेत्रको मुल्य र महत्व दर्शाउने कुरा हुनेछ । वैज्ञानिक शोध र प्रविधिको उपयोगबाट हामी धेरै सुधारका कदम उठाउन सक्छौं ।

(क) खाद्य प्रशोधन र संरक्षणस ः छिट्टै बिग्रने फलफूल, तरकारी, दूधजस्ता उपजलाई प्रशोधन गरी अचार, जाम, सुकेका तरकारी, पाउडर वा अन्य दीर्घकालसम्म हुने(सुरक्षित हुने)उत्पादनमा रूपान्तरण गर्न सकिन्छ ।

(ख) खाद्य सुरक्षा र गुणस्तर प्रयोगशाला परीक्षण ः गुणस्तर मापदण्ड र आधुनिक गुणस्तर नियन्त्रण प्रणालीमार्फत खाद्य पदार्थहरूमा हुने मिसावट, जीवाणुजन्य संक्रमण वा हानिकारक रसायनको उपस्थितिमाथि निगरानी गर्न सकिन्छ । प्रशिक्षित खाद्य प्रविधिज्ञ र निरीक्षकहरूले उत्पादनदेखि बजारसम्मका चरणमा खाद्यको स्वच्छता र सुरक्षालाई सुनिश्चित गर्न सरकार र उद्योग दुवै क्षेत्रमा काम गर्न जरूरी छ ।

(ग) आयात प्रतिस्थापन र मूल्यवर्धन ः खाद्य प्रविधिले स्थानीय स्रोतबाट नयाँ उत्पादन विकास गर्ने क्षमता बढाउँछ । नेपालको फराकिलो जैविक विविधता र विशिष्ट परम्परागत खाना छन्, जसमध्ये धेरैलाई व्यावसायिक रूप दिन सकिन्छ । उदाहरणका लागि, कोदाको पिठोबाट निर्मित स्वास्थ्यवर्धक स्न्याक्स, अलैंची वा अदुवाको तेलबाट सुगन्धित पेय पदार्थ, अर्गानिक चिया तथा कफीका नयाँ मिश्रण । यस्ता अनगिन्ती सम्भावना छन् जुन खाद्य प्रविधिमा दखल भएका युवाहरूले नयाँ उत्पादनको रूपमा बजारमा ल्याउन सक्छन् । खाद्य प्रविधिको ज्ञान हासिल गरेका युवाहरू आफ्नै खाद्य प्रसंस्करण उद्यम खोली स्थानीय उत्पादनमा मूल्यवर्धन र खाद्य सुरक्षामा योगदान दिन सक्छन ।

(घ) रोजगारी र आर्थिक वृद्धि ः खाद्य प्रविधिमा दक्खल हासिल गरेका जनशक्तिहरू अहिले खाद्य प्रसंस्करण उद्योग, कृषि उद्यम, होटल तथा पर्यटन क्षेत्र, गुणस्तर परीक्षण प्रयोगशाला, अनुसन्धान संस्था, सरकारी नियामक निकाय लगायत थुप्रै क्षेत्रमा मागमा छन् । एक अध्ययनले जनाएअनुसार उपभोक्ताहरूमा सुरक्षित र स्वस्थ खानेकुराको माग बढेसँगै होटल, रेस्टुरेन्ट र खाद्य उद्योगहरूले गुणस्तर सुनिश्चित गर्न दक्ष जनशक्ति राख्न थालेका छन् । यसले घरेलु रोजगारी सिर्जना गर्दै युवाहरूलाई आफ्नै देशमै अवसर पाउने वातावरण प्रदान गरेको छ ।

दिगो विकासका लागि युवापुस्ताको भूमिका र अवसर

नेपाल जस्तो विकासोन्मुख देशमा दिगो विकास हासिल गर्न कृषिलगायत सबै क्षेत्रको रूपान्तरण आवश्यक छ । खाद्य क्षेत्र तिनैमध्ये एक प्रमुख क्षेत्र हो जसले दिगो विकासका सामाजिक, आर्थिक र पर्यावरणीय तीनै आयामलाई समेट्छ । खाद्य सुरक्षाको प्रत्याभूति दिगो विकास देखि स्वस्थ जीवन र पोषण, मर्यादित रोजगारी, आर्थिक वृद्धि र जिम्मेवार उपभोग तथा उत्पादन सम्म धेरै लक्ष्यहरू खाद्य प्रणालीसँग गाँसिएका छन् । यी लक्ष्य प्राप्तिका लागि युवा पुस्ताको नवीन सोच, ऊर्जा र सीपलाई परिचालन गर्नु अत्यावश्यक छ ।

आजका नेपाली युवाहरू विज्ञान र प्रविधिमा दखल राख्ने, नयाँ कुरा छिटो आत्मसात् गर्ने र उद्यमशील सोच भएका छन् । सरकारले र अन्तर्राष्ट्रिय निकायहरूले समेत कृषि तथा खाद्य प्रणालीमा रुपान्तरण ल्याउन युवाहरूको सक्रियता र नेतृत्वलाई अपरिहार्य ठहर गर्न थालेका छन् । युवाहरूले खाद्य प्रविधि क्षेत्रमार्फत दिगो विकासमा बहुआयामिक योगदान दिन सक्छन् ।

नवप्रवर्तन मार्फत – परम्परागत खेती र उद्योग चलाउने तौरतरिकामा नयाँ प्रविधि र विचार भित्र्याउन युवाहरू सक्षम छन् । उनीहरू डिजिटल प्रविधि, सूचना प्रणाली र आधुनिक संयन्त्रहरूको प्रयोग गरी कृषि–खाद्य श्रृंखला अधिक प्रभावकारी र पारदर्शी बनाउन सक्छन् । विशेषज्ञहरूले ध्यानाकर्षण गराएका छन् कि नेपालमा कृषि र शिक्षाबीच सम्बन्ध जोड्दै व्यावहारिक तालिम, प्राविधिक शिक्षा र उद्यमशीलताको प्रशिक्षण दिनु आवश्यक छ, जसले गर्दा युवा पुस्ता परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न सक्षम होऊन् ।

नेतृत्व र जागरूकता मार्फत – युवा शक्ति परिवर्तनको वाहक हो । आजका विद्यार्थी र युवा वैज्ञानिकहरूले खाद्य सुरक्षाका महत्त्व, पोषणका आवश्यकता र वातावरणीय संरक्षण जस्ता विषयमा समुदायस्तरमा अभियान र जागरूकता फैलाउन सक्छन् । विद्यालय र कलेजहरूबाट नै यदि खाद्य विज्ञान र पोषणका कुराहरू सिकाइयो र प्रयोगात्मक रुपमा देखाइयो भने भविष्यका लागि स्वास्थ्यप्रद भोजन (बानी) र उत्पादनप्रति सम्मान जगाउन सकिन्छ ।

सङ्घर्ष र नीति (नियममा सहभागिता) नीति निर्माणमा युवापुस्ताको आवाज पर्नु जरुरी छ । नेपालको सन्दर्भमा खाद्य सुरक्षासम्बन्धी ऐन, खाद्य गुणस्तर मापदण्डहरू र कृषि–उद्योग प्रवर्धन नीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि सचेत युवा पुस्ताले निगरानी र वकालत गर्न सक्छन् ।

खाद्य प्रविधि र विज्ञानमैत्री युवापुस्ताकै प्रयासबाट नेपालको खाद्य प्रणाली दिगो र समृद्ध बन्नेछ । खाद्य प्रविधि शिक्षाले युवा पुस्तालाई आधुनिक सीप, ज्ञान र आत्मविश्वाबाटत कृषि र उद्योगबीचको खाडल कम गर्न सहयोग गरेको छ । अब आवश्यक छ त केवल यी युवाहरूलाई उचित अवसर, प्रोत्साहन र पूर्वाधार उपलब्ध गराउने । सरकारले प्राविधिक शिक्षा र अनुसन्धानमा लगानी बढाउँदै युवा अनुसन्धानकर्ताहरूलाई प्रोत्साहन दिनु अझै जरुरी छ । निजी क्षेत्रले समेत स्टार्टअपहरू र नयाँ परियोजनाहरूसँग सहकार्य गरी नवप्रवर्तनलाई बजारसम्म लैजान सघाउनु पर्छ ।

खाद्य प्रविधिमा आजको लगानी र युवापुस्ताको आकर्षणले भोलिको स्वस्थ, समृद्ध र दिगो नेपाल निर्माणमा अभूतपूर्व योगदान दिनेछ । सरल शब्दमा, खाद्य प्रविधिमा निपुण युवा भनेका राष्ट्रिय सम्पदा हुन् जसले नेपाललाई भोकमुक्त, स्वस्थ र समृद्ध बनाउने मूलधारको यात्रामा अगुवा भूमिका निर्वाह गर्न सक्छन् । .
Share this article:

Related Articles

🎯 Career Guides

IDEA2IMPACT 360: Turning Ideas into Real-World Impact

At NIST Higher Education, learning is not limited to classrooms, assignments, or examinations. We believe students learn best when they are given the opportunity to question, explore, collaborate, and work on problems that actually matter. With that spirit, NIST Higher Education is organizing IDEA2IMPACT 360: Lab • Tech • Market, an interdisciplinary ideathon designed to bring students from different academic backgrounds together and encourage them to transform ideas into practical, meaningful solutions.

30 Aug 2026 7 min read
🎯 Career Guides

Food Technology Career & Salary Guide in Nepal 2026: Jobs, Growth & Scope

One of the biggest questions +2 graduates ask before choosing B.Tech. Food Technology is simple: what happens after graduation? With Nepal's packaged food, dairy, and beverage industries expanding steadily, food technologists are in growing demand — but salaries and roles vary a lot depending on experience, industry, and location. Here's a complete, realistic breakdown.

13 Aug 2026 5 min read
🎯
🎯 Career Guides

TU Entrance Exam Dates 2083 BS: Complete

If you've just finished your +2 and you're planning to apply for any Tribhuvan University undergraduate program this year, mark your calendar — the application window for CMAT opens on 15 June 2026 (Asadh 01, 2083). Other TU entrance applications follow within the next six weeks, and the entire entrance season closes by mid-August.

24 Jun 2026 4 min read

Ready to Begin Your Journey?

Explore our academic programs and find the right fit for your career goals.

View Programs Contact Us
🎓

Sarah · NIST Counselor

Online · Powered by Claude

🎓
नमस्ते! 👋 I'm Sarah, your NIST counselor. Ask me about programs, syllabus, scholarships, admission — in English, Nepali, or Romanized Nepali (e.g. "kasari apply garne?")!
⚡ AI guidance only. Call +977-1-4964068 for official info